काठमाडौ । असोज २१ गते बुधबार प्रकाशित
मेरो कलम खोस या कापी च्यात । पाइला रोक या हात काट ।
मलाई हिरासतमा कोच या जेलमा जाक ।
सत्य रोकेर रोकिन्न ।
मेरो आँखामा पट्टि बाँध या मुखमा टाल ।
या त सुन्ने कानलाई शुन्यतामा ढाल ।
मलाई उज्यालोमा राख या अन्धकारमा राख ।
सत्य छेकेर छेकिन्न ।
मेरो मुखमा छुरा रोप या गोली ठोक ।
रगतमा सत्य बगाउ या त्यसभित्र चोप ।
तिमी सौख मनाउ या शोक ।
सत्य मारेर मरिन्न ।
सल्लाह र सुझाब मात्रै सित्तैमा पाइन्छ ।
तर स्वतन्त्रता सित्तैमा पाइन्दैन ।
मेरो लडाइँ सत्यको स्वतन्त्रको निम्ति हो ।
शक्तिको जीतको निम्ति होइन ।
सत्य ढाँटेर ढाँटिन्न ।
लेखक :- ग्याल्जेन दोर्जे तामाङ
हाल :- नख्खु कारागार काठमाडौ