जागिर खाँदा खाँदै बहालवाला पुलिसका डिआइजीले जोडे दुई श्रीमती - MONGOL KHABAR

Breaking

जागिर खाँदा खाँदै बहालवाला पुलिसका डिआइजीले जोडे दुई श्रीमती

काठमाडौ । नेपालमा मुलुकी देवानी संहिता २०७४ अनुसार बहुविवाह वर्जित छ । कसैले बहुविवाह गरेमा एक देखि पाँच वर्षसम्म कैद हुने र सो विवाह स्वतः बदर हुने कानुनी प्रावधान छ ।


नेपालमा कानुन पालना गराउने सुरक्षा सङ्गठनमा त यो प्रावधानमा निक्कै कडाइ गरिने दाबी गरिन्छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार प्रहरीमा कानुन विपरीत काम अस्वीकार्य नै हुन्छ ।


तर प्रहरी संगठनका एक डिआइजीको घरमा दुई श्रीमती छन् । आफू दुई श्रीमतीको श्रीमान् भएको उनले लुकाएका पनि छैनन् । उनले शासनका साथ प्रहरी बर्दी सहित दायाँबायाँ जेठी र कान्छी श्रीमती उभ्याएर फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमै राखेका छन् ।


ती डिआइजी हुन् गणेश ऐर जो प्रहरी प्रधान कार्यालयको प्रदेश हेर्ने कार्यालयको प्रमुखको रूपमा कार्यरत छन् । अहिलेका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीको ब्याचका उनी पुस २३ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । डिआइजीको दर्ज्यानी चिन्ह पाएको खुसीमा घरमा खुसी मनाउदै, आमाको हातबाट टिका लगाए । अनि दायाँ जेठी श्रीमती कमला राना ऐर र बायाँ कान्छी सोनू ऐर उभ्याएर बिचमा भर्खर पाएको दर्ज्यानी चिन्ह सहितको बर्दी लगाएर तस्बिर खिचे । उनका आफन्तले बधाई दिँदै त्यही तस्बिर फेसबुकमा अपलोड गरिदिए । जुन तस्बिर अहिले भाइरल भएको छ । 


जानकार स्रोतका अनुसार उनको पहिलो श्रीमती उनी रोल्पामा प्रहरी निरीक्षकको रूपमा खटिँदा विवाह गरेका हुन् । दोस्रो श्रीमती सिन्धुपाल्चोक जिल्लामा पोस्टिङ हुँदा विवाह गरेका हुन् ।

रोल्पामा जाँदा पहिली विवाह नै गरे । उनको परिवारबारे जानकार स्रोतले भन्यो । कान्छी श्रीमती चैँ सिन्धुपाल्चोकमा खटिँदा ल्याएका हुन । उनले जेठी–कान्छी दुबैलाई मिलाएर एकै घरमा राखेका छन ।


दुवै श्रीमती मिलेर बसे पनि कानुनले बहुविवाह वर्जित गरेको छ । यस्तो विवाह स्वतः बदर हुने मात्रै होइन, बहु विवाह गर्ने श्रीमान् र अर्को श्रीमती भएको थाहा पाउँदापाउँदै विवाह गर्नेलाई समेत अहिलेको मुलुकी संहिताले कारबाहीको भागिदार बनाएको छ ।


बहालवाला डिआइजीका दुइटा श्रीमती छन । जेठी श्रीमती कमला राना ऐर र कान्छी सोनू ऐरका साथ डिआइजी गणेशको तस्बिर कमला र सोनूको फेसबुक सामाजिक सञ्जाल फेसबुकमा विना कुनै हिचकिचाहट डिआइजी तहका अधिकृतले जेठी र कान्छीको बिचमा उभिएको तस्बिर राखेकाले उनलाई यो सम्बन्ध लुकाउन के आवश्यक छ र ? डिआइजी ऐरलाई जिज्ञासा राख्दा उनले अस्वीकार गर्दै भने‘ हैन नि, एउटै हो । अनि फेसबुकमा दायाँबायाँ उभ्याएर खिचेको तस्बिर कसको त भन्ने प्रश्नमा उनले भने सँगै फोटो खिच्दैमा श्रीमती नै हुन्छन् र आफन्त पनि हुन सक्छन् नि भने ।


बहुविवाह सम्बन्धी कानुनले यसलाई निषेध गरेको छ । तर कसैले दुई श्रीमती भएको पुष्टि भए पनि कारबाही हुनसक्ने आधार भने देखिएन । डिआइजी ऐरले दुवै श्रीमती सार्वजनिक गरेकै आधारमा उनीमाथि कानुनी कारबाही हुने देखिएन । यसका लागि उनका दुई श्रीमतीमध्ये कसैले उजुरी नै गर्नुपर्ने प्रहरी प्रवक्ता र अर्का अधिवक्ताले बताए ।


उजुरी आए मात्र कारबाही हुने प्रहरी प्रवक्ता वसन्त कुवरले प्रहरी संगठन भित्र कसैले बहुविवाह गरेमा उजुरी गर्नु पर्ने बताए । उनले भने, पीडितले उजुरी गर्छ भने कारबाही हुन्छ ।

जुनसुकै अपराधमा पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन उजुरी महत्त्वपूर्ण हुने बताउँदै बहुविवाहको सन्दर्भमा पुष्टि हुन गाह्रो हुने र कोही सँगै बस्दैमा यसलाई बहुविवाह हो भनेर कारबाही गर्न नमिल्ने उनको तर्क थियो ।


प्रहरी संगठन भित्र कसैले बहुविवाहको उजुरी गर्छ भने र प्रमाणित हुन्छ भने संगठन भित्रकालाई पनि कारबाही हुन्छ, उनले भने हामी कारबाही गर्छौ ।  खबर सेन्टरवाट साभार